sangrila bank

सिपी गजुरेल क. गौरवको रकमी र काइते लेखको विश्वास नगरौँ’

डा. ऋषिराज बराल
विषयप्रवेश
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र ‘माओवादी’ को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख कमरेड सिपी गजुरेल ‘गौरव’ को ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन : वर्तमान सन्दर्भमा’ शीर्षकको लेख प्रकाशित भएको छ । त्यसमा थुप्रै विरोधाभासपूर्ण भनाइहरू रहनुका साथै कतिपय सत्यतथ्यलाई समेत तोडमरोड पारिएकाले यहाँ केही कुरा प्रस्ट पार्ने प्रयास गरिएको छ ।
विश्लेषण
१. सो लेख ७ ओटा उपशीर्षकमा विभाजित छ । आरम्भको भाग विषयप्रवेश हो र यसलाई उपशीर्षक दिइएको छैन । पहिलो उपशीर्षक ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई बुझ्ने समस्या’ हो । कमरेड गौरवले कमरेड लेनिनका भनाइहरूको सहयोग लिँदै कुनै एक देशको क्रान्ति त्यस देशको मात्र क्रान्ति नभएर, त्यो विश्व सर्वहारा क्रान्तिको अङ्ग भएकाले त्यसलाई संसारभरिका क्रान्तिकारीहरूले समर्थन र सहयोग गर्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ । यो सर्वमान्य र सार्वभौम प्रस्थापना हो । यसमा सहमत नहुने कुरा छैन । परन्तु, यो मूल्यलाई स्वयम् कमरेड गौरव र उहाँको पार्टीले कति गम्भीरताका साथ आत्मसात गरिरहेको छ भन्ने प्रश्न अहिलेको अहम् प्रश्न हो । कमरेड गौरवको पार्टीका दस्ताबेजहरू र व्यवहारमा कमरेड गौरवले उठाउनु भएको अन्तर्राष्ट्रिय सर्वहारावादी मूल्यको बोध गर्न सकिने स्थिति पटक्कै छैन ।
पाखण्डी पण्डितहरू यसो गर्नु हुँदेन, उसो गर्नु हुँदैन भनेर बडो अर्तिउपदेश दिन्छन्, तर आफू स्वयम् व्यवहारमा त्यसको पालना गर्दैनन् । प्रस्ट रूपमा भन्दा कमरेड गौरवको लेख यसै प्रवृत्तिको उदाहरण बनेको छ । कमरेड गौरवले कुरा त बडो सर्वहारावादी अन्तर्राष्ट्रियतावादको गर्नुभएको छ, परन्तु, सो पार्टीको दस्ताबेज र पारित प्रस्तावहरूमा भारत, टर्कीलगायत विश्वमा चलिरहेका जनयुद्ध तथा राष्ट्रिय मुक्तियुद्धलाई समर्थन गरौँ भन्ने एउटा शब्द पनि पढ्न पाइँदैन । सहयोग र समर्थनको कुरा परै जाओस्, राज्यआतङ्कको निन्दा र विरोधको प्रस्ताव पनि पारित गरेको पाइँदैन । यसका लागि पछिल्लो भेलाले पारित गरेको २५ बुँदे प्रस्ताव मात्रै पनि हेरे पुग्छ । त्यतिबेला केन्द्रीय समितिको पोखरा बैठकमा निकै ठूलो दबाबपछि, भारतीय जनताले चलाएको जनयुद्धका विरुद्ध भारतीय फासिवादी सरकारले चलाएको ‘अपरेसन ग्रीन हन्ट’ नामका हत्या अभियानको विरोध प्रस्ताव पारित गरिएको थियो । तर अक्षरमा बाहेक यसको व्याहारिक रूप कतै देख्न पाइएन ।
विश्वभरिका माओवादीहरू, उत्पीडित वर्ग र समुदायले भारतीय उत्पीडित जनताले लडेको जनयुद्धको समर्थन र फासिवादी हत्या अभियान ‘अप्रेसन ग्रिन हन्ट’ को विरोध गर्दा कमरेड गौरवहरूले यसको आवश्यकता नदेख्नु र नठान्नुमा कतै आत्मसुरक्षावादी चिन्तनले काम गरेको त छैन ? भनेर प्रश्न उठ्नु/उठाउनु स्वाभाविक छ । यहाँ भारतीय विस्तारवाद रिसाउँछ कि भन्ने चिन्ता अर्थात् उसलाई नचिढ्याउने मनोदशाले काम गरेको छ भन्न सकिन्छ । प्रस्ट रूपमा भन्दा यो घुमाउरो पाराले जनयुद्धको राजनीतिप्रतिको विमति पनि हो । के भारत, फिलिपिन्स, टर्की भाइचारा पार्टीहरू होइनन् ? ती मुलुकहरूमा चलिरहेको जनयुद्ध अन्तर्राष्ट्रिय सर्वहारा क्रान्तिको अङ्ग होइन ? उसो भए किन मौनता ? वास्तवमा यसप्रतिको मौनतालाई सहज रूपमा लिन मिल्दैन । अमेरिकाका काला जातिमाथि भएको दमन देख्ने गौरव कमरेडहरू भारत र टर्कीका जनतामाथि फासिवादी सत्ताद्वारा गरिएको दमन, मणिपुर, काश्मिर र कुर्दिस्तानमा भएको दमन किन देख्नुहुन्न ? गजबको सर्वहारवादी अन्तर्राष्ट्रियतावाद छ गौरव कमरेडहरूको !
कमरेड गौरवहरू भाइचारा पार्टीहरूसम्बद्ध सूचना र सम्बन्धमा निकै पछि हुनुहुन्छ । उहाँहरूले जेलमा रहेका भाकपा (माओवादी) का वरिष्ठ नेताद्वय कमरेड अजिथ र कमरेड कोबाध गान्धीका बारेमा त प्रश्न उठाउनु भएन नै प्राध्यापक साइबाबा र अप्पा रावका बारेमा पनि उहाँहरूसित सही जानकारी रहेनछ । नेकपा (क्रान्तिकारी माओवादी) को पछिल्लो भेलाले पारित गरेका २१ औँ बुदामा लेखिएको छ : “भारतको दिल्ली विश्वविद्यालयका प्राध्यापक जी.एन साइबाबा र अप्पा राओको भारत सरकारबाट गरिएको गैरकानुनी गिरफ्तारीको घोर विरोध गर्दै यो भेला उहाँहरूको शीघ्र रिहाइको माग गर्छ ।” यो बुँदा विप्लव कमरेडहरू अलग्गिएपछिको राष्ट्रिय भेला अर्थात् २ वर्षअघिको भेलाले पास गरेको प्रस्ताव हो र अमेरिकाका काला जातिसम्बन्धी प्रस्ताव पनि २ वर्ष अघिकै हो । अप्पा रावको पूरा नाम जारा अप्पा राव हो र उनी आन्ध्र विश्वविद्यालयका तेलगु भाषाका प्राध्यापक हुन् । उनी छिटै जेलबाट छुटेका र लामो दबाबपछि प्राध्यापक साइबाबा जमानतमा छुटेका थिए । गौरव कमरेडहरूले पछिल्ला सूचनासमेत नबुझी जस्ताको तस्तै गत साल पारित प्रस्तावहरू राखिदिनुभएको छ । यसबाट उहाँहरूको सूचनाप्रतिको पहुँच र भाइचारा पार्टीहरूसितको सम्बन्धको स्थितिबारे राम्रो जानकारी मिल्छ ।
२. कमरेड गौरवको लेखको दोस्रो बुँदा ‘विश्व परिस्थिति र एकदेशमा हुने क्रान्ति’ हो । विश्व परिस्थितिको व्याख्याका सन्दर्भमा उहाँले रिमको पहिलो घोषाणपत्रबाट उद्धरणहरू लिनुभएको छ । तर त्यसको पनि सारतत्व छोड्नु भएको छ । यसमा उहाँले भन्नुभएको छ : “यो कुरा सत्य हो कि यतिखेरको विश्व परिस्थिति क्रान्तिका लागि अनुकुल छैन ।” यस किसिमको विश्लेषणमा सत्यता र वैज्ञानिकताको अभाव छ । यो मनोगतवादी व्याख्या हो । यो निरासावादी बुझाइ हो । यतिबेर साम्राज्यवाद, त्यसमा पनि अमेरिकी साम्राज्यवादको जेजस्तो स्थिति छ, अन्तरसाम्राज्यवादी अन्तर्विरोध जसरी चर्केको छ, यसले विश्व परिस्थिति क्रान्तिका लागि अनुकूल छ । यो अन्तर्राष्ट्रिय क्रान्तिकारी माओवादी पार्टीहरूको ठहर हो । साथसाथै माओवादी पार्टीहरूको आत्मगत स्थिति कमजोर भएकाले क्रान्तिका लागि परिस्थिति अनुकूल बनाउन सकिएको छैन भन्ने पनि माओवादी पार्टीहरूको बुझाइ हो । समस्या विश्व परिस्थितिको नभएर आत्मगत स्थितिको हो । यहाँ आत्मगत पक्ष र वस्तुगत पक्षलाई गाँजेमाजे पारिएको छ ।
वास्तवमा कमरेड गौरवका भनाइ आफैँमा विरोधाभासपूर्ण छन् । यो कुरा उहाँको अर्को लेख ‘साम्राज्यवादी देशमा बढ्दो अन्तर्विरोध’ बाट पनि थाहा पाउन सकिन्छ । एकातिर उहाँ विश्व परिस्थित प्रतिकूल छ भन्नुहुन्छ, अर्कोतिर ‘विश्व परिस्थिति र एकदेशमा हुने क्रान्ति’ र ‘विश्वव्यापी आर्थिक सङ्कट’ मा आफ्नै भनाइ विपरीत व्याख्या गर्नुहुन्छ । जस्तो उहाँ भन्नुहुन्छ : “यो कुरा सत्य हो कि विश्वस्तरमा कम्युनिस्ट आन्दोलन शक्तिशाली भएको भए संसारका धेरै देशमा क्रान्ति सम्पन्न हुन सक्ने अवस्था थियो ।” अवश्य पनि हो, विश्वको स्थिति अनुकूल भएर पनि आत्मगत कमजोरीका कारण क्रान्तिले गति लिन सकेको छैन । यतिखेर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नै आशाको केन्द्र बनेको छ । साथसाथै प्रतिक्रियावाद र साम्राज्यवादी आतङ्कले मात्र नभएर दक्षिणपन्थी अवसरवादले पनि सर्वहारावादी क्रान्तिमा ठूलो नोक्सान पुर्याएको छ । यो हाम्रो सन्दर्भमा पनि त्यत्तिकै सत्य हो । यस्तो बेला जनयुद्ध चलिरहेका देशका आन्दोलनहरू खास गरेर भारतमा चलेको जनयुद्धलाई बढीभन्दा बढी सहयोग र समर्थनको आवश्यकता छ । परन्तु यस कार्यमा कमरेड गौरवहरूको भूमिका अलिकति पनि सर्वहारवादी अन्तर्राष्ट्रियतावादी मूल्यअनुरूप हुन सकेन । यो तीतो सत्यलाई कमरेड गौरवहरूले आत्मसात गर्नु जरुरी छ ।
३ कमरेड गौरवको लेखको एउटा उपशीर्षक ‘मालेमावादीहरूको संयुक्त वक्तव्य’ रहेको छ । यो समसामयिक र महत्वपूर्ण सन्दर्भ हो । यो सन्दर्भले केही व्याख्या र इतिहासको पनि माग गर्छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ‘शान्तिप्रक्रिया’ मा आएपछि यसलाई लिएर भाइचारा पार्टीहरूले आआफ्ना धारणाहरू सार्वजनिक गरे । सन् २००९ पुग्दा नपुग्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी) लाई लिएर भाइचारा पार्टीहरूबीचमै विभिन्न किसिमका मतमतान्तरहरू देखापरे । आरसिपी, अमेरिका र भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले पुस्तकाकारकै रूपमा दस्ताबेज सार्वजनिक गरेर नेकपा ( माओवादी) विचलनको दिशामा गएको ठहर गरे । यसैबीच आरसिपी, अमेरिकाले ‘न्यु सिन्थेसिस’ को धारणा अघि सार्दै पेरिस कम्युनदेखि माओसम्मको इतिहास ‘मिति नाघि सकेको औषधी’ भएकाले यसबाट क्रान्ति सम्पन्न नहुने र अबको क्रान्ति ‘न्यु सिन्थेसिस’ का आधारमा मात्र हुने भन्दै यसलाई नै विश्वका क्रान्तिकारीहरूको नयाँ केन्द्र निर्माणको आधार बनाउनुपर्ने जिकिर गर्यो । आरसिपी, अमेरिकाबाहेकका पार्टीहरू ‘न्यु सिन्थेसिस’ उत्तर–मालेमावादी चिन्तनमा आधारित भएको र यसले विसर्जनवादको पुर्पक्ष मात्र गर्छ भन्ने निष्कर्षमा पुगे र यसलाई पूर्णरूपमा खारेज गरिदिए । आरसिपी, अमेरिकाले ‘न्यु सिन्थेसिस’लाई आधार बनाए मात्र नयाँ केन्द्र बनाउन सकिने हठधर्मिता देखाएपछि यो बाहेकका पाटीहरू नयाँ केन्द्र निर्माणको वातावरण बनाउन सक्रिय भए । कमरेड अजिथद्वारा प्रस्तुत ‘अन दि प्रिजेन्ट सिचुएसन अफ दि रिम एन्ड दि च्यालेन्ज अफ रिग्रुपिङ माओइस्ट पार्टीज एट दि इन्टर्नेस्नल लेवल’, यसैको उपज थियो ।
यस प्रयासलाई निरन्तरता दिन सन् २०११ देखि आरसिपी अमेरिका बाहेकका माओवादी पार्टी तथा सङ्गठनहरूले बैठक, सभा आदि गर्दै संयुक्त रूपमा ‘मे डे घोषणापत्र’ जारी गर्दैआएका छन् । विश्वका ३० ओटा क्रान्तिकारी सङ्गठनहरूको सन् २०१६ को संयुक्त वक्तव्य यसैको पछिल्लो कडी हो । यो मूलतः विश्वका क्रान्तिकारी माओवादीहरूबीच सम्बन्ध विस्तार गर्ने र नयाँ केन्द्र निर्माण गर्ने उद्देश्यद्वारा गरिएको प्रयास हो । यस किसिमको संयुक्त वक्तव्यमा सन् २०११ पछि नेपालका कुनै पनि माओवादी पार्टीको सहभागिता रहेको छैन । सन् २०१४ देखि नेपालका तर्फबाट ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च’ को तर्फबाट यस टिप्पणीकार सहभागी बनेको छ । र सन् २०१६ को संयुक्त वक्तव्यमा ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ सहभागी भएको छ ।
प्रचण्डसित सम्बन्ध विच्छेद गरेको चार वर्षपछि अहिले आएर कमरेड गौरवले यसप्रति चासो राख्नु भएको छ । तर उहाँ इमानदारीका साथ प्रस्तुत नभएर रकमी र काइते शैलीमा प्रस्तुत हुनुभएको छ–एक किसिमको ठालुपनको आभास हुन्छ उहाँको अभिव्यक्तिमा । जस्तो उहाँले लेख्नुभएको छ : “यसै वर्ष मई दिवसको अवसरमा ३० ओटा माओवादी सङ्गठनहरूले एउटा संयुक्त वक्तव्य प्रकाशित गरेका छन् । त्यसका हस्ताक्षरकर्तामध्ये भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) विश्वमा परिचित कम्युनिस्ट पार्टी हो । अरू त्यति परिचित सङ्गठन होइनन् ।”
पहिलो कुरा कमरेड गौरवको यो भनाइमा खिसिट्युरीको भाव छ र बुझाइ मार्क्सवादसम्मत छैन । कुनै पार्टी नयाँ होला, कुनै पार्टी पुरानो, कुनै पार्टी सानो होला र कुनै ठूलो । प्रश्न आकार अथवा नयाँ र पुरानोको होइन, प्रश्न त्यसले उठाएको मुद्दाको हो । तर कमरेड गौरवको प्रस्तुतिमा नाम नचलेका अपरिचित भनेर होच्याएको जस्तो, खिसिट्युरी गरेजस्तो भाव झल्किन्छ । अहिलेलाई माओवादी नाम राखेका नेपालका पार्टीहरूमा प्रचण्डले नेतृत्व गरेको पार्टी ठूलो र परिचित होला । तर यसले केही अर्थ राख्दैन । फेरि सही विचार भए आजको सानो पार्टी भोलि ठूलो बन्न सक्छ । यो देखे/बुझेको सत्य हो । नेपालको माओवादी आन्दोलनमा कतिबेर कुन पार्टी फुट्यो र कुन नयाँ पार्टी बन्यो, किन फुट्यो र किन अर्को बन्यो, कसको के हो स्थिति र कार्यदिशा भन्ने कुरा अन्यौलमा रहेकाले चिनाउन कमरेड किरणको नेतृत्वमा रहेको, कमरेड विप्लवको नेतत्वमा रहेको माओवादी पार्टी भन्नुपरेको स्थिति छ । देशभित्रै समस्या छ भने बाहिर झन् समस्या छ । अहिले पनि भाइचारा पार्टीहरू कमा, ड्यास, ब्राकेट आदि नबुझेर अन्योलमा परेका देखिन्छन् । कमरेड किरण, कमरेड गौरव भनेर अन्तर्राष्ट्रिय जगतले चिन्छ, तर नेकपा (क्रान्तिकारी माओवादी) अन्तर्राष्ट्रिय माओवादी आन्दोलनमा अझै परिचित र स्थापित हुन बाँकी छ भनेर कमरेड गौरवले बुझ्नु आवश्यक छ र प्रचण्डबाट विद्रोह गर्दाको नेकपा–माओवादीबाट दुईतिहाई हिस्सा बाहिरिसकेको छ भनेर पनि बुझ्नु आवश्यक छ । कमरेड गौरवको भनाइमा अहम् भाव र ठालुवाद छ, सर्वहारावादी भ्रातृत्वभाव छैन ।
अवश्य पनि ३०ओटा सङ्गठनको वक्तब्यमा साना सङ्गठन र मोर्चाहरू पनि छन् । तर त्यसमा परिचित पार्टीका रूपमा भाकपा (माओवादी) मात्र छैन । त्यसमा रिमको गठनसँगै जोडिएका माओवादी पार्टी इटाली र पछि रिममा सहभागी भएको माओवादी पार्टी अफ्गानिस्तान पनि छन् । युरोपको विशिष्टतामा त्यसले के–कति गर्नसक्यो, त्यो आफ्नो ठाउँमा छ, तर नयाँ केन्द्र निर्माण लगायत भारतमा चलिरहेको जनयुद्धका पक्षमा र राज्यआतङ्कका विरुद्ध विश्वजनमत निर्माण गर्न हिजोको रिम सदस्य माओवादी पार्टी इटालीको ठूलो भूमिका छ । यसका अन्तर्राष्ट्रिय विभाग प्रमुख नेकपा–माओवादीको सातौँ महाधिवेशनमा शुभकामना दिन उपस्थित हुनुहन्थ्यो भन्ने कुरा पनि यहाँ स्मरणीय छ । रिम स्थापनादेखि जोडिएको र सँगै उठबस गरेको पार्टी कसरी अपरिचित हुन्छ ? यताको कुरा गर्ने हो भने ती अपरिचित भनिएका पार्टीहरूको तुलनामा कमरेड गौरवको पार्टीले अन्तर्राष्ट्रिय क्षेत्रमा सिन्को पनि भाँचेको छैन । ‘परिचित’ भनिएकाहरू साम्राज्यवादी–विस्तारवादी शक्तिहरू रिसाउँछन् कि भनेझैँ गरी केही पनि नगर्ने अनि अरूलाई परिचित/अपरिचित भनेर होच्याउने काम कुनै पनि क्रान्तिकारीले गर्न मिल्दैन । साना भएर पनि युरोपेली माओवादी पार्टीहरूले जे गरिरहेका छन्, त्यो उदाहरणीय छ । आवश्यकता प्रशंसा र उत्साहको छ, खिसिट्युरीको होइन । पहलकदमी कसले लियो यो प्रमुख कुरा हो । अनेक बहाना बनाएर पहलकदमी लिनबाट भाग्ने र अरूले गरेको राम्रो कामको पनि प्रशंसा गर्न नसक्ने प्रवृत्ति मार्क्सवादसित मेल खाँदैन । यो अहङ्कारी प्रवृत्ति हो–ठालुवाद ।
नयाँ रिम निर्माणमा लागेकाहरूको लगातार ५ वर्षदेखि मे दिवसका दिन संयुक्त वक्तव्य निकालेका छन् । गत वर्षहरूमा कमरेड गौरवहरूले यसलाई बेवास्ता गरे पनि यसपल्ट सम्बोधन गर्न उहाँहरू बाध्य हुनुभएको छ । तर सो संयुक्त वक्तव्यको स्पिरिटलाई अझै कमरेड गौरवले समात्न सकेको बोध हुँदैन । यसपल्टको वक्तव्यमा ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ ५० वर्ष पुगेको सन्दर्भलाई विशेष महत्व दिइएको छ । यसको महत्व र सान्दर्भिकताको विश्वव्यापी प्रचारका लागि विशेष कार्यक्रम र योजनाहरू बनाउन सो वक्तव्यले आह्वान गरेको छ । कमरेड गौरवले यस पक्षप्रति बेवास्ता गर्नुभएको छ ।
यो वक्तव्यप्रति आफनो धारणा राख्ने क्रममा कमरेड गौरवको निम्न भनाइ पनि ध्यान दिन योग्य छ । “सच्चा कम्युनिस्ट पार्टीहरू मिलेर अन्तर्राष्ट्रिय केन्द्र निर्माण गर्नका लागि यो एउटा आह्वानजस्तो अवश्य हो । हाम्रो पार्टीका लागि यो विशेष महत्वको किन पनि छ भने हाम्रो पार्टीले आजभन्दा ठीक दुई वर्षअघि गरेको आह्वानको स्पिरिटसँग यसले मेल खान्छ ।” यहाँ कमरेड गौरवले दुनियाँलाई मुर्ख बनाउन खोज्नु भएको छ । जानी नजानी बेइमानीभाव देखाउनु भएको छ । यसलाई काम गर्ने कालु, मकै खाने ठालु भन्न सकिन्छ । आफूले २ वर्षअघि उठाएको अहिलेको संयुक्त वक्तव्यमा आयो भनेर एकातिर आफूहरू निकै अगाडि भएको देखाउन खोज्नुभएको छ भने अर्कोतिर नयाँ रिम निर्माणका लागि सन् २०१० देखि त्यसमा पनि २०११ देखि खास गरेर तत्कालीन भारतीय कम्युनिस्ट पार्टी (माले) नक्सलवाडीका कमरेड अजिथ (हाल भाकपा (माओवादी) का नेता जो जेलमा हुनुहुन्छ ) र माओवादी पार्टी इटालीको ठूलो भूमिकालाई खारेज गर्नुभएको छ । यो हद दर्जाको बेइमानी हो । ४ वर्षसम्म बेवास्ता गर्ने कमरेड गौरवले अहिले श्रेय लिन खोजेको देख्दा साँच्चिकै आश्चर्य लाग्छ । म कमरेड गौरवलाई सन् २०११ देखि २०१५ सम्मका संयुक्त वक्तव्य अध्ययन गर्न अनुरोध गर्छु । यति मात्र नभएर सन् २०१० मा कमरेड अजिथले पार्टीको तर्फबाट अन्तर्राष्ट्रिय सेमिनार प्रस्तुत गर्नुभएको कार्यपत्र : ‘ अन दि प्रिजेन्ट सिचुएसन अफ दि रिम एन्ड दि च्यालेन्ज अफ रिग्रुपिङ माओइस्ट पार्टीज एट दि इन्टर्नास्नल लेवल’ पढ्न पनि अनुरोध गर्छु ।
साँचो कुरा के हो भने कमरेड गौरवले छलफलका लागि पठाएको दस्ताबेजलाई माओवादी पार्टी इटाली लगायत नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणमा लागेका पार्टीहरूले प्रचण्डप्रभावबाट मुक्त हुन नसकेको, कार्यदिशामा प्रस्टता नभएको, भाइचारा पार्टीहरूको प्रयासप्रति बेवास्ता गरेको आदिआदि भनेर खारेज गरिदिएका हुन् । यसको प्रमाणका लागि माओवादी पार्टी इटालीले जनवरी २०१५ मा तत्कालीन नेकपा –माओवादीलाई लेखेको चिठीलाई लिन सकिन्छ, जसलाई नेक्स्ट फ्रन्टले अनुवाद गरी प्रकाशित गरेको थियो । इमानदारीपूर्वक भन्नुपर्दा चार वर्षसम्म पटक्कै चासो नदिनु अहिले आएर अपरिचित भनेर होच्याउनु र २ वर्षअघि आफूले उठाएको भनेर श्रेय लिन खोज्नु भनेको बेइमानीसिबाय केही होइन । यो बब अभाकियनवादी ठालुवादकै अर्को रूप हो ।
४. अन्तिम बुँदाको शीर्षक ‘अन्तर्राष्ट्रिय केन्द्र निर्माणको प्रश्न’ छ । यसमा नयाँ केन्द्र कसरी निर्माण गर्ने भनिएको छ । कमरेड गौरवले हिजो रिमले ‘ए वल्र्ड टु विन’ मार्फत विचार निर्माण, सङ्गठन विस्तार लगायत थुप्रै कामहरू गरेको थियो र अहिले यस्तो हालतमा हुँदा ठूलो नोक्सान भएको भनेर दुख मनाउ गर्दै भन्नुभएको छ : “पेरू कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड गोन्जालोको जीवन रक्षा र रिहाइ, अमेरिकाका अबु जमालको जीवन रक्षा र रिहाइ, तत्कालीन माओवादीका शीर्ष नेताहरू क. किरण र क. गौरवको जीवन रक्षा र रिहाइका निमित्त अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी अभियान चलाइको थियो ।”
कमरेड गौरवले गर्नुभएको चिन्ताप्रति विमति छैन । रिमले धुप्रै काम गरेको थियो । नेपालको माओवादी आन्दोलनलाई प्रचारप्रसार गरेर विश्वव्यापी बनाउन मात्र होइन, रोल्पामा बाटो खन्नसमेत भाइचारा पार्टीका कमरेडहरू समुन्द्र पारिबाट आउनुभएको थियो । कमरेड किरण र कमरेड गौरवको जीवन रक्षा र रिहाइका लागि विश्वव्यापी जनमत दबाब सिर्जना गर्न रिम र कम्पोसाले महत्वपूर्ण भूमिका खेलेका थिए । भारतीय मानवअधिकारवादीहरू, वकिल, प्राध्यापक र पत्रकारहरू उहाँहरूको जीवन रक्षा र रिहाइका लागि दिनरात नभनी लागेका थिए । कमरेड गौरवलाई नेपाल सरकारसमक्ष सुम्पिन खोज्दा भारतीय मनावअधिकारवादीहरू र वकिलहरू सडकमै लम्पसार परेर बाटो अवरुद्ध गर्दाको त्यो क्षण कमरेड गौरवले पक्कै पनि नबिर्सनु पर्ने हो । तर कठै ! आज कमरेड किरण र गौरवले यी सबै कुरा बिर्सिनुभएको छ । कमरेडहरूले भारतमा चलिरहेको जनयुद्धको समर्थन त गर्नु भएन भएन, भारतीय फासिवादी सत्ताले भारतीय उत्पीडित जनताका विरुद्ध चलाएको ‘अपरेसन ग्रिन हन्ट’ नामको हत्याअभियानका विरुद्ध एक शब्द बोल्नु पनि आवश्यक ठान्नु भएन ।
यतिखेर भारतीय जेलमा भाकपा (माओवादी) को माथिल्लो स्तरका ९ जना कमरेडहरू बन्दी अवस्थामा हुनुहुन्छ, त्यसमा रिमका संस्थापक सदस्य कमरेड अजिथलगायत कमरेड कोबाध गान्धी पनि हुनुहुन्छ । उहाँहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियान चलाइको छ । ‘रिलिज कमरेड अजिथ’, ‘फ्रि कमरेड अजिथ’ भनेर भारत र युरोपका भित्ताहरू पोस्टर र ब्यानरले रङ्गिएका छन्, तर कमरेड किरण, गौरव र उहाँहरूको गौरवशाली पार्टीले एक शब्द पनि बोल्नु आवश्यक ठानेको छैन । अरू कुरा त परै जाओस्, गत वर्ष मुटुको उपचार गर्दागर्दै कमरेड अजिथ पुणेमा अस्पतालबाटै पक्राउ पर्नुभयो । भर्खरै पनि मुटु रोगले च्यापेपछि ठूलो दबाबस्वरूप उहाँको उचित उपचार गरियोस् भनेर भारतका संशोधनवादी पार्टीहरूसमेतले वक्तव्य जारी गरे । भारतका माक्र्सवादी बुद्धिजीवीहरूलगायत नोम चोम्स्की र प्राध्यापक जुडिथ बटलरले विश्वव्यापी हस्ताक्षर अभियान चलाए । तर कमरेड गौरव र उहाँको पार्टीका लागि यो सन्दर्भ चासोको विषय बनेन । कमरेड गौरव भाइचारा पार्टीहरूका कमरेडहरू र भारतीय बुद्धिजीवीहरूले आफ्ना लागि यसो गरे, उसो गरे भन्नुहुन्छ, तर संसार बोल्दा उहाँहरू आफूलाई केही थाहा नभएको जस्तो गरिरहनु भएको छ । कस्तो विडम्बना ! व्यक्तिवादिता र स्वार्थीपनको गजबको उदाहरण हो यो । यस किसिमको प्रवृत्तिलाई कसरी अन्तर्राष्ट्रियतावादी सर्वहारावादी मानवतावाद भन्ने ? कमरेडहरूको अन्तर्राष्ट्रियतावादी सर्वहारावादी चिन्ता र केन्द निर्माणको चिन्तन आफैँप्रति व्यङ्ग्य भएको छ । भाइचारा पार्टीहरूबाट नेकपा–माओवादी (हाल क्रान्तिकारी माओवादी ) अविश्वसनीय, मध्यपन्थी र प्रचण्ड प्रभावबाट मुक्त हुन नसकेको भन्ने टिप्पणी त्यसै आएको छैन ।
नयाँ केन्द्र निर्माणको वातावरण तयार पार्न विभिन्न किसिमका कार्यक्रम र योजनाहरू बनाइए । ह्यामबर्ग र मिलानमा विश्वका माओवादीहरू बैठक आयोजना गरियो र कमरेड गौरवहरूलाई सहभागी हुन अनुरोध गरियो । उहाँहरू जाने कुरा त परै जाओस्, शुभकामना पनि पठाउनु भएन । अपरिचित र साना पार्टीहरूले गरेको भनेझैँ गरी ती बैठकहरूप्रति बेवास्ता गरियो । अहिले ढाँट कुरा गर्दै दुई लाइन सङ्घर्षका कारण पहल लिन नसकिएको प्रस्टीकरण कमरेड गौरवले दिनुभएको छ । यो अर्को धुत्र्याइँ र बेइमानी हो । ह्यामबर्ग र मिलान बैठक कमरेड गौरवहरू बुद्धनगर सरेपछि भएका थिए । सत्य के हो भने त्यतिबेर भाइचारा पार्टी र नयाँ केन्द्र निर्माणमा भन्दा ‘राष्ट्रिय सहमति’ को रोइलोको मोहले उहाँहरूलाई घुमाएको थियो । त्यतिबेर अर्कै मानसिकताले काम गरेको थियो ।
नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणका लागि कमरेड गौरवले अघि सार्नुभएको धारणाप्रति विमति छैन । कमरेड गौरवहरू भर्खर बौरिनु भएको छ, तर भाइचारा पार्टीहरूको सन् २०१० देखिकै प्रयास हो । ४ वर्षअघि यस टिप्पणीकारले “अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन : वर्तमान विवाद र ‘न्यु सिन्थेसिस’” शीर्षकमार्फत स्थितिलाई यसरी प्रस्ट पारेको थियो : “इतिहासको समीक्षा गरेर नयाँ किसिमले अघि बढ्ने÷बढाउने कुरामा विवाद छैन तापनि आरसिपि अमेरिकाबाट आधारका रूपमा अघि सारिएको ‘न्यु सिन्थेसिस’ नै अहिले प्रमुख बाधक बनेको छ । र पनि आरसिपिबाहेकका पार्टी र सङ्गठनहरूको अगुवाइमा एउटा दरिलो अन्तर्राष्ट्रिय निर्माण गर्न सकिने आधारहरू बलियो रूपमा उपस्थित छन् । … भरिसक्के साझा आधार र अवधारणा बनाएर आरसिपी अमेरिका समेतलाई समेटेर अघि बढ्नुपर्छ । त्यसो हुन नसके आरसिपी अमेरिका बाहेकका पार्टीहरूसित हातेमालो गरेर अघि बढ्नु अहिलेको सन्दर्भमा वैज्ञानिक उपाय ठहर्छ ।” । अहिलेको यथार्थ यही हो र यताका दिनमा भइरहेको प्रयास पनि यही हो ।

निष्कर्ष
शाब्दिक चिन्ताले मात्र पुग्दैन, मूल कुरा व्यवहारमा हामीले के गर्यो भन्ने हो । हिजो कोरिममै बसेका, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबारे लामो अनुभव र अध्ययन भएको, दसबर्से जनयुद्ध हाकेको कारण भाइचारा पार्टीहरूले कमरेड किरण र गौरवप्रति हेरेकै हुन् र पहल लिन भनेकै हुन् । विभिन्न बहाना बनाएर यसप्रति कमरेड गौरवहरूले चासो नराखेकै हो । ‘राष्ट्रिय सहमति’ को अन्तर्यसित गाँसिएका कुराहरूले उहाँहरूलाई रोकेकै हो । कमरेड गौरवको लेखले भित्री कुरा थाहा नपाएका कार्यकर्ता लगायत अरूहरूमा पार्टी यस क्षेत्रमा निकै चिन्तित रहेछ भन्ने पनि भ्रम पर्न सक्छ । तर, जो यसबारे भुक्तभोगी छ, उसलाई अन्तर्निहित सत्यतथ्य थाहा छ । यो टिप्पणीकार एक समय नेकपा—माओवादीको अन्तर्राष्ट्रिय विभागमा थियो र कमरेड गौरवको कोपभाजनमा परेको थियो भन्ने कुरा पनि सत्य हो । कमरेडहरूको व्यवहारले भाइचारा पार्टीहरू, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताहरू त्यति आश्वस्त हुन सकेका छैनन्, एक हिसाबले विश्वास गुमेको स्थिति छ र अहिले नेकपा (क्रान्तिकारी माओवादी) ले लिएको राजनीति लाइनप्रति पनि उनीहरूको विमति छ । यस्ता रकमी लेखहरू र काइते शैलीले भाइचारा पार्टीहरूसितको सम्बन्ध सुमधुर हुनसक्तैन । ठालुवादी प्रवृत्ति त्यागेर अब कमरेडहरू इमानदारीसाथ प्रस्तुत हुनु आवश्यक छ । प्रचण्डहरू सिद्धिए, विप्लवहरू ‘उत्तरसाम्राज्यवाद’ को वकालत गर्न थाले र गर्ने भनेको कमरेड गौरवहरूको पार्टीले नै हो । विगतमा केही कमजोरी भएको र अब इमानदारीका साथ प्रस्तुत हुने कुरा व्यवहारद्वारा प्रमाणित गर्नु आवश्यक छ । अब खुलेर आउनु आवश्यक छ, जाली शब्दहरू र धुत्याइँपूर्ण लेखनको काम छैन ।
०००


 

Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आइजिपी प्रकरण : तेस्रो बरियताका कुलमान घिसिङले उज्यालो दिन हुने, प्रहरीमा किन नहुने ?

Tuesday, 21 February 2017

सुमन बराल सरकारले पहिलो बरियताका नवराज सिलवाल र दोस्रो बरियताका प्रकाश अर्याललाई पन्छाएर तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा ...

मिंयो बिनाको प्रहरी : जब वामदेवलाई सलामी टक्र्याउन आइजिपी साप होटलमा पुगे…

Monday, 20 February 2017

राजु भट्टराई २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि देशले शान्ति सुरक्षा र अमनचयन पाउला भनेर सोचेको सोझा नेपाली जनताको चाहानामाथि राजनीतिक ...

डिआइजी नवराज सिलवाल यसरी बन्दैछन् अर्को ज्ञानेन्द्र शाह !

Wednesday, 8 February 2017

युवराज कार्की/टिप्पणी काठमाडौं, २५ माघ । एउटा समय थियो राजा ज्ञानेन्द्रको गलत कदम विरुद्ध कुनै ‘मिडिया’ जब बोल्थे तब ‘सेन्सरसिप’ ...

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

Sunday, 2 October 2016

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका ...

vionet
NEA MESSAGE
Be a Model

लोकप्रिय

मनोरञ्जन

Top