sangrila bank

मैले यो पुस्तक किन अनुवाद गरेँ ?

शरच्चन्द्र वस्ती

प्रचलित शिक्षा प्रणालीमा स्कूलको भूमिका ज्यादै महत्वपूर्ण छ । तर स्कूल जसका निम्ति बनाइएका हुन्, तिनका निम्ति आकर्षण होइन विकर्षणका केन्द्र बनेका छन् । केटाकेटीहरू स्कूलमा आफ्नो व्यक्तित्व नस्वीकारिएको, मन नलागेको कुरा जबर्जस्ती गर्न लगाइएको, आफ्ना इच्छा, विचार, जिज्ञासा र प्रयोगलाई बेवास्ता एवं प्रताडित गरिएको अनुभव गर्छन्, स्कूल जानु नपर्दा बढी खुशी हुन्छन् । जति कडाइ गरे पनि केटाकेटीलाई तह लगाउन नसकिएकोमा शिक्षक असन्तुष्ट छन्, छोराछोरीले भनेजस्तो नम्बर ल्याउन नसकेकोमा आमाबाबु असन्तुष्ट छन्, तिनलाई आफूले चाहेजस्तो बनाउन नसकेकोमा शिक्षक, अभिभावक दुवै महा–असन्तुष्ट छन् । स्कूलले वर्गभेद झन् गाढा पार्दै लगेकोमा शिक्षाविद चिन्तित छन् भने स्कूलको शैक्षिक स्तर नउकासिनु नियामक निकायहरूको टाउकोदुखाइ बनेको छ । सबैलाई लाग्छ— कहीं न कहीं हाम्रा स्कूल असफल छन् ।
स्कूल किन असफल हुन्छन् ? यस प्रश्नको उत्तर हामी भौतिक पूर्वाधार र सुविधामा खोजिरहेछौं । राम्रो भवन, भव्य कोठा, स्तरीय शैक्षिक उपकरण, अत्याधुनिक शैक्षिक प्रविधि, पर्याप्त कम्प्युटर, प्रशस्त खेलकूद, उन्नत शिक्षक–तालीम, मोटो बजेट आदिले स्कूललाई सफल बनाउन सक्छन् भन्ने हामीलाई लाग्छ । त्यसैले हामी —स्कूल सञ्चालकदेखि सरकारसम्म— यसतर्फको दौडमा छौं र ‘वाञ्छित स्तर’ मा पुग्न नसकेकोमा हीनभावना पालेर बसेका छौं । विख्यात अमेरिकी शिक्षाविद जोन हल्टले पनि, यस पुस्तकमा, यसै प्रश्नको उत्तर खोजेका छन् । उनको निष्कर्ष, उनले देखाएको ऐना हाम्रा निम्ति अप्रत्याशित र आश्चर्यजनक मात्र छैन, भ्रमभञ्जक र आँखा खोल्ने खालको पनि छ । यसले देखाउँछ— भौतिक पूर्वाधार र सुविधाको कुनै कमी नरहँदा पनि स्कूलहरू पूर्णतः असफल हुँदा रहेछन्, स्कूलको सफलता–असफलता यस्ता तामझमबाट होइन, अरू नै कुराबाट निर्धारित हुँदो रहेछ । शिक्षा भनेको के हो र स्कूलको काम के हो भन्ने आधारभूत प्रश्नमा घोत्लिन मात्र बाध्य पार्दैन यसले, हाम्रो शिक्षा प्रणालीले स्वीकारेका मान्यताको सतहीपन र निरर्थकता पनि छर्लंग पार्छ ।
‘असफल स्कूल’ जोन हल्टको कृति ‘द अन्डरअचीभिङ स्कूल’ को नेपाली अनुवाद हो । पुस्तक आजभन्दा पाँच दशक अघि लेखिएको हो, तर प्रचलित स्कूली शिक्षामाथि उनले उठाएका प्रश्न आजको विश्वमा पनि उत्तिकै सान्दर्भिक र विचारोत्तेजक छन्, जति उसवेला थिए । त्यसमाथि, उसवेलाको अमेरिकामा स्कूलहरूको जस्तो अवस्था देखिन्छ, जातीय–सामाजिक मनोविज्ञान, विद्यार्थीप्रतिको दृष्टिकोण र व्यवहार अनि शैक्षणिक जडताको जस्तो स्थिति देखिन्छ, त्यो आजको हाम्रो परिस्थितिसँग दुरुस्तै मिल्दोजुल्दो छ । हामीले राम्रो, उचित र केटाकेटीका निम्ति उपयुक्त ठानिआएका प्रक्रिया र व्यवहारको निर्मम चिरफार गर्छन् उनी, र देखाउँछन्— कसरी तिनले केटाकेटीलाई ध्वस्त पार्छन् । बच्चाले वास्तवमा कसरी सिक्छन् र त्यसमा स्कूल कसरी बाधक बन्न पुग्छ भन्ने कुरा आफ्नो अनुभव, प्रयोग र संवेदनशील निरीक्षणका आधारमा नलकपकाइकन खरो भाषामा व्यक्त गरेका छन् उनले । जोन भन्छन्— स्कूल केटाकेटीका लागि जेल हो, जहाँ उनीहरूसँग कैदीको जस्तो व्यवहार गरिन्छ, अनुशासनका नाममा तिनलाई आज्ञापालक कठपुतली बनाइन्छ । पढ्नु आनन्द होइन यातना बन्न पुग्छ, मौलिकता र सृजनात्मकता दण्डनीय वस्तु बन्छन्, आफ्नोपन कुण्ठित हुन्छ । स्कूलबाट गुज्रिसक्ता पनि जुन बच्चा आफ्नो अस्मिता, पहिचान, स्वाभिमान र आत्मविश्वास बचाइराख्न सफल हुन्छ, त्यो साँच्चै अद्वितीय मानिस हो । पुरस्कार, दण्ड, ग्रेड, डिग्री, प्रमाणपत्र आदिबाट सुसज्जित आजको शिक्षालाई उनी ‘मानवजातिको सबैभन्दा तानाशाहीपूर्ण र खतरनाक आविष्कार’ अनि ‘विश्वव्यापी गुलाम राज्यव्यवस्थाको सबैभन्दा गहिरो जग’ ठहर्याउँछन् । र, कित्ताकाट गर्छन्— ‘म यस्तो शिक्षाको पूर्णतः विपक्षमा छु ।’
शिक्षा मानवीय उन्नतिको मूल आधार हो भन्नेबारे मानव समाज एकमत रहिआएको भए तापनि आदर्श वा उद्देश्यको पृथकताका कारण यसका दुई धार देखिन्छन् । पहिलोले मानिसलाई परनिर्धारित निश्चित प्रयोजनका लागि उपयुुक्त पात्रका रूपमा विकसित गर्ने लक्ष्य लिएको हुन्छ भने दोस्रोले उसलाई आफ्नो जीवनोद्देश्य स्वयं निर्धारित गर्न र स्व–इच्छाले त्यसमा अघि बढ्न दिनुपर्ने मान्यता राख्छ । पहिलोले मानिसलाई रित्तो भाँडो ठानेर त्यसमा ‘ज्ञान’ अर्थात् जानकारी भरिदिन चाहन्छ भने दोस्रोले ज्ञानको बीज ऊसँगै हुन्छ भन्ने मान्छ र त्यसलाई विकसित हुने अवसर र वातावरण मात्र जुटाइदिन चाहन्छ । पहिलोले ‘मलाई बच्चा देऊ, म उसलाई तिमीले चाहे जस्तो बनाइदिन्छु’ भन्छ, दोस्रोले बच्चालाई ऊ स्वयंले चाहे जस्तो बन्न सहयोग पु¥याउने अभीष्ट राख्छ । आधारभूत रूपमा पहिलोले मानिसलाई बाँध्न चाहन्छ दोस्रोले मुक्त गर्न ।
पहिलो धारको टडकारो प्रतिनिधित्व लर्ड मेकालेले गर्छन्, जसले झन्डै दुई शताब्दी अघि शिक्षालाई ‘ब्रिटिश साम्राज्यलाई आफ्ना उपनिवेशमा चाहिने बफादार कारिन्दा तयार गर्ने’ उद्देश्यका निम्ति प्रयोग गरे र त्यसमा सफलता प्राप्त गरे । उनको ‘मोडल’ को पर्याप्त आलोचना गरिन्छ, तर आज विश्वभर विविध ढाँचामा प्रचलित शिक्षा त्यसैको परिवर्धित नयाँ संस्करण हो, जसले मानिसलाई ‘राज्य र बजारलाई चाहिने उपयुक्त पात्र’ का रूपमा तयार गर्ने उद्देश्य बोकेको छ । यस अन्तर्गत शिक्षाको सान्दर्भिकता, गुणस्तर र उपयोगिताको कसी यसका ‘उत्पादन’ हरू राष्ट्रिय–बहुराष्ट्रिय कम्पनी र संस्था अथवा सरकारी, गैरसरकारी कार्यालय र उपक्रमहरूका निम्ति कति बढी ग्राह्य र उपयोगी भए वा हुन सक्छन् भन्ने कुरालाई मानिन्छ ।
यस क्रममा विद्यार्थीको वास्तविक रुचि, चाहना र स्वतन्त्र व्यक्तित्व दबेर ऊ कारखानामा उत्पादित माल जस्तो बन्न पुगेको हुन्छ । उसले शिक्षालाई आजीविकाको, भौतिक आवश्यकता पूर्तिको वा आर्थिक समृद्धिको साधन मात्र ठान्छ र आफ्नो जीवन यसैको लिगलिगे दौडमा समर्पित गर्छ । जोन हल्ट यस धारलाई अस्वीकार गर्छन् । दोस्रो धार हाम्रा आफ्नै पुर्खा र ऋषिमुनिहरूको धार हो, जसले मानिसमा अन्तर्निहित बुद्धि र संवेदनाको विकासलाई शिक्षाको मूल उद्देश्यका रूपमा लिन्छ । अन्य ज्ञान, कौशल आदि त त्यसपछि, त्यसको पछि लागेर आउने कुरा हुन् । यसको मान्यता हो— प्रत्येक व्यक्ति अरूभन्दा फरक विशेषता र जीवनोद्देश्य लिएर जन्मेको हुन्छ; शिक्षाले उसलाई आफ्नो अन्तर्जात प्रतिभा र सामथ्र्य पहिचान गर्न तथा तिनलाई सम्भव सीमासम्म विकसित गर्न सघाउनुपर्छ, ऊ जे बन्न पैदा भएको हो त्यही बन्न दिनुपर्छ, उसलाई ‘अभिव्यक्त’ हुन दिनुपर्छ । ज्ञान बाहिरबाट आउँदैन, मानिसभित्रै हुन्छ; मानिसले सिक्छ भन्नुको अर्थ उसले आफूभित्र रहेको ज्ञान अनावृत गर्छ भन्ने हो । शिक्षकको काम त्यसमा सहयोगी बन्नु मात्र हो । यही प्रक्रियामा सघाउ पुर्याउन सक्ता मात्र शास्त्रको पनि सार्थकता छ, नत्र ती निरर्थक बोझ बाहेक केही होइनन् । शास्त्र, शिक्षक र पढाइ सम्बन्धी भ्रम चिर्न प्रह्लादका मुखबाट बालकृष्ण समले भनेको एउटै श्लोकात्मक वाक्य पर्याप्त छः
पढाउँछु भनी गर्व गर्नुहुन्छ भने गुरु, गएर एउटा चिल्लो ढुंगालाई पढाउनोस् !
यस सन्दर्भमा शिक्षाभन्दा गहकिलो र स्पष्ट शब्द ‘विद्या’ प्रयोग गर्छन् हाम्रा पूर्वजहरू र भन्छन्— विद्या त्यही हो, जसले मानिसलाई मुक्त गर्छ (सा विद्या या विमुक्तये) । सूचना, जानकारी, प्रविधि वा शास्त्रज्ञान विद्या होइन, ‘सत्यको अनुभूति’ अर्थात् पूर्णता–समग्रताको बोध नै विद्या हो । आफूलाई अस्तित्वमा र अस्तित्वलाई आफूमा अनुभव गर्नु, एकत्वको अनुभूति गर्नु नै समग्रताको बोध हो । यही ‘स्व’ को वास्तविक पहिचान हो । पृथकता वा न्यूनताको बुझाइ अविद्या हो, जसबाट ‘स्व’ को पहिचान हुन सक्तैन । एउटा मानिस, मानिस बन्नुमा उसको वंश परम्परा, ज्ञान परम्परा, दैवी शक्ति, मानव समाज र प्रकृति÷पर्यावरणको योगदान हुन्छ, अर्थात् ऊ यी पाँच कुराको ऋणी हुन्छ । उसले सर्वप्रथम यी ऋणहरूबाट उऋण हुनुपर्छ ।
यो जीवनशैली अन्तर्गतको प्रक्रिया हो र यसैले चार पुरुषार्थ —धर्म, अर्थ, काम, मोक्ष— को बाटो पनि खोल्छ । यस क्रममा ऊ एकातिर समाजका लागि उपयोगी बन्छ भने अर्कातिर सामाजिक, आर्थिक, सांस्कृतिक लगायत समस्त बन्धनबाट मुक्त भई आफ्नो जीवनोद्देश्य हासिल गर्न, आफूलाई अभिव्यक्त गर्न समर्थ हुुन्छ । अर्वाचीन समयमा स्वामी विवेकानन्द, रवीन्द्रनाथ टैगोर, अरविन्द र कृष्णमूर्तिदेखि ओशोसम्मका, गिजुभाईदेखि टीएन पथिकसम्मका शैक्षिक मान्यता र प्रयोग यस धार अन्तर्गत पर्दछन् । एशियादेखि युरोप, अमेरिकासम्मका थुप्रै शैक्षिक चिन्तक एवं प्रयोक्ताहरू, जसले बच्चामा अन्तनिर्हित प्रतिभाको सहज विकासमा जोड दिएका छन् र उनीहरूलाई तिनले चाहेजस्तो बन्न दिनुपर्ने मान्यता राख्छन्, यस धारसँग निकट देखिन्छन् । यसै पंक्तिमा पर्छन्, ‘शिक्षा त्यो कुरा हो जसलाई हरेक व्यक्तिले आफ्ना निम्ति स्वयं प्राप्त गर्छ, यो त्यस्तो कुरा होइन जो अरू कसैले उसलाई देओस् अथवा दिन सकोस्’ भन्ने जोन हल्ट पनि । जब उनी शिक्षालाई स्वतन्त्रताको विस्तार, विश्वशान्ति, जातिवादको समाप्ति जस्ता बृहत्तर मानवीय मूल्यसँग जोड्न चाहन्छन्; अथवा स्कूलको समग्र वातावरणबाट केटाकेटी आत्मिक रूपमा विकलांग हुन पुग्ने कटुसत्य औंल्याउँछन् अथवा लोभलाई आफूभित्रको रिक्तता पूरा गर्ने प्रयासका रूपमा परिभाषित गर्दै त्यो रिक्तता बाहिरबाट पूरा हुँदैन, त्यसका लागि आफैंभित्र फर्कनुपर्छ भन्छन्, त्यसवेला मानव समाज र प्रकृति/पर्यावरणको ऋणबाट मुक्त हुनुपर्ने भावबाट, आध्यात्मिक चेतनाबाट घचघच्याइए जस्ता लाग्छन् । यसले उनलाई विशेष गहिराइ दिएको छ ।
तथापि, उनको सीमा छ । हरेक बच्चामा अरूभन्दा बेग्लै जन्मजात प्रवृत्ति, प्रतिभा र सामथ्र्य हुन्छ भन्ने सत्यसम्म त उनी पुग्छन् तर त्यस्तो किन हुन्छ भन्ने प्रश्नको उत्तर उनीसँग छैन । चेतनाको दिव्यता–नित्यता र जीवन–कर्मश्रृंखलाको निरन्तरता सुस्पष्ट अनुभूत गर्न नसकेको अवस्था, अथवा त्यसको झलक पाएर पनि धार्मिक–पारम्परिक प्रतिषेधका कारण स्वीकार्न नमिल्ने÷नसकिने परिवेश र परिस्थितिमा यसको उत्तर भेट्न सकिंदैन पनि । हाम्रा तत्वदर्शीहरू भने गहन साधनाद्वारा विकसित अत्युच्च चेतना र अनुभूत सत्यका आधारमा बारम्बार यसको उत्तरसम्म पुगेका छन् र त्यो हो— जन्मान्तरको संस्कार । त्यसैले त, पार्वतीले विद्या प्राप्त गरेको प्रसंग वर्णन गर्दै कालिदास भन्छन्, “जसरी शरद ऋतुमा हाँसको बथान गंगामा आइपुग्छ, रातमा महौषधिको प्रभा तिनमा प्रकट हुन पुग्छ, त्यसैगरी उपदेश (पढाइ) का वेला मेधाविनी पार्वतीमा पूर्वजन्मार्जित विद्याहरू स्वतः आइपुगे ।” र, मुक्तिको कुरा पनि यस्तै हो । जोन हल्टले जोड दिएको ‘स्वतन्त्रता’ विचार, अभिव्यक्ति र कार्यव्यापारसँग मात्र सम्बन्धित छ, मुक्तिको गहिराइमा त्यसले प्रवेश गर्दैन ।
मानिसमा आज जेजस्ता विकृति देखा परिरहेका छन् र त्यसबाट देश तथा समाजले जस्ता समस्या बेहोर्नु परिरहेको छ, त्यसको जरो प्रचलित शिक्षामा, त्यसले दिने मानसिकता र जीवनशैलीमा निहित छ । यसबाट त्राण दिन सक्ने र मानिसलाई साँचो अर्थमा मानिस बनाउन सक्ने सामथ्र्य हाम्रो पारम्परिक शैक्षिक धारमै छ । तर त्यसलाई हामीले विसर्जन गरिसकेका छौं र त्यसबारे गम्भीर चर्चा गर्न समेत तयार छैनौं । त्यतातिर लाग्दा पुरातनपन्थी भइएला र आधुनिकताको दौडमा पछि परिएला भन्ने भयले हामीलाई शिथिल तुल्याएको छ । यस्तो अवस्थामा, आज हामीले शिक्षामा समेत ‘आदर्श’ मानिरहेका अर्को गोलार्धका विकसित मुलुकको अनुभव र यथार्थबोधले शैक्षिक जडता तोड्न हामीलाई किञ्चित् उत्प्रेरित गर्ला कि भन्ने आशयले यो अनुवाद प्रस्तुत गर्ने जमर्को गरिएको हो ।  यस क्रममा कतिपय प्रसंग छरित्याइएका छन्, अध्यायहरूको पुनःसंयोजन गरिएको छ र केही ठाउँमा सामान्य अनुकूलन गरिएको छ । जोन हल्टको आफ्नै शैली छ, उनी बडो अर्थपूर्ण ढंगले शब्द चयन गर्छन् र आफ्ना कुरा कुनै मुलाहिजा नगरी विस्फोटक ढंगबाट व्यक्त गर्छन् ।
कहिले सामान्य जस्ता लाग्ने सरल वाक्यबाट ज्यादै गम्भीर कुरा भनिरहेका हुन्छन् त कहीं अनेकौं उपवाक्यमा जेलिएका लामा न लामा जटिल वाक्यबाट कथ्य अथ्र्याइरहेका हुन्छन् । भाषान्तर गर्दा नेपालीपन र प्रवाह कायम गर्न त यथासम्भव प्रयास गरिएकै छ; लेखकको शैली र शिल्पको छनक नमेटियोस्, लय र भंगिमामा आघात नपरोस् भन्नेतर्फ पनि ध्यान दिइएको छ । यो पुस्तक हिन्दीमा अरविन्द गुप्ताले ‘असफल स्कूल’ नामबाट अनूदित गरेका छन् । प्रस्तुत अनुवादमा त्यसलाई आधार बनाइएको छ, साथै नेपालीमा पनि त्यही नाम उपयुक्त लागेकाले साभार लिइएको छ । आफ्नो देश र युरोपका कतिपय मुलुकमा जति भौंतारिंदा पनि ‘राम्रो स्कूल’ भेट्न नसकेका जोन हल्टले डेनमार्कमा पुगेर ‘एउटा राम्रो स्कूल’ फेला पारेका रहेछन्, जसको वर्णन उनको अर्को पुस्तक ‘इन्स्टेड अफ एजुकेशन’ (शिक्षाको सट्टा) मा छ । भौतिक–आर्थिक प्रचुरता विना पनि स्कूल कसरी ‘सफल’ हुन सक्छ भन्ने बुझ्न र जोनको परिकल्पनाबारे स्पष्ट हुन त्यसबाट सहयोग पुग्ने हुँदा अन्तिम खण्डमा त्यस पुस्तकका तीन अध्याय समाविष्ट गरिएको छ ।
पुस्तकको एकसरो अनुवाद सकिएपछि, स्व–सम्पादन अघि, अमेरिका पुगेको थिएँ— गएको दशैंताका । केही स्कूल हेरें, कतिपय केटाकेटी र अभिभावकसँग कुरा गरें । जोन हल्टको खबरदारीले राम्रै काम गरेको रहेछ । अमेरिकाका स्कूलहरू पर्याप्त परिवर्तित भइसकेका रहेछन्, स्कूलमा केटाकेटीको रुचि, सृजनात्मकता र व्यक्तित्वले एक हदसम्म महत्व पाउन थालेको रहेछ, स्कूल केटाकेटीका लागि विकर्षण होइन, आकर्षणका केन्द्र बन्दै गएका रहेछन् ।
वाशिङटन डी.सी. स्थित ‘नेशनल म्युजियम अफ अमेरिकन हिस्ट्री’ मा घुम्दा प्राथमिक तहका गोरा–काला केटाकेटीको समूहसँग जम्काभेट भयो, जसमा हरेक विद्यार्थी असीम उत्सुकता र तन्मयताका साथ आफ्नो रुचिका वस्तुको ‘आविष्कार’ मा जुटेको थियो— अरू कसैको सहयोग, हस्तक्षेप वा निर्देशन विना । आफूलाई मन लागेको कुरा खोज्ने र त्यसलाई आफ्नो दृष्टिले व्याख्या गर्ने अरे ! कताकता आस लाग्यो, हल्टको रन्कोले हामीकहाँ पनि केही काम गर्ला कि ! अमेरिकीहरू मात्र कुरा बुझ्ने र संवेदनशील, हामी चाहिं कुरा नबुझ्ने र संवेदनाशून्य त पक्कै होइन होला !

(असफल स्कूल पुस्तकबाट)


Notes Nepal

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

तीन मिनेट भित्रै भारतले पाकिस्तानलाई यसरी टुक्र्याएर बंगलादेश बनाएको थियो

Saturday, 17 December 2016

रेहान फजल १४ डिसेम्बर सन् १९७१ । समय : लगभग १० : ३० बजे । स्थान : गुवाहाटीको एक एअरबस ...

राष्ट्रपतिलाई महाअभियोग लगाएपछि यस्तो छ दक्षिण कोरिया

Saturday, 10 December 2016

रमेश लम्साल काठमाडाैँ, २५ मङ्सिर । करिब दुई महिना लामो शक्ति संघर्षपछि अन्ततः दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन हाइ निलम्बनमा ...

किसानको छोरोले चप्पल लगाएर यो व्यवस्थामा प्रश्न गर्‍यो भने भनिन्छ, ‘राजनीति नगर्नुहोस्’

Sunday, 4 December 2016

भारतीय राजनीतिमा यतिबेला एक युवा उदाएका छन् । मञ्चमा भारतीय संस्थापन पक्ष र त्यहाँको व्यवस्था विरुद्ध चर्को स्वरमा चिच्याइरहने युवा ...

विशेष लेख : संगठनको समस्या र पद्धतिशास्त्रको दिशा

Friday, 2 December 2016

विश्वका प्रमुख मार्क्सवादी विचारकहरु मध्ये जर्ज लुकास एक मानिन्छन् । सन् १८७५ मा हंगेरीमा जन्मिएका लुकासको विचारधारात्मक क्षेत्रमा महत्वपूर्ण योगदान ...

दशैँ मान्न सबै सर्वसाधारण गाउँ हिँडेपछि काठमाडौंका सडक सुनसान

Monday, 10 October 2016

काठमाडौँ, २४ असोज । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय  : सुनसान देखिएको छ । दसैँ ...

अलमलमा परेका कामरेडहरूसित

Thursday, 22 September 2016

डा. ऋषिराज बराल विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ताहरू यतिखेर बडो गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिहेका छन् ...

सिपी गजुरेल क. गौरवको रकमी र काइते लेखको विश्वास नगरौँ’

Wednesday, 21 September 2016

डा. ऋषिराज बराल विषयप्रवेश नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र 'माओवादी' को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ ...

यस्ताे थियाे १० वर्षे सशस्त्र युद्धमा कर्णालीमा युद्ध पत्रकारीता

Sunday, 18 September 2016

नविन रिजाल नेकपा (माओवादी) ले वि.स. २०५२ फागुन १ गते जनयुद्धको घोषणा ग¥यो । जनयुद्धमा जनसेनाको जस्तै प्रचार कार्य महत्वपूर्ण ...

राष्ट्रवादको क्याटवाक

Monday, 12 September 2016

दुई वर्षअघि २६ र २७ नोभेम्बरमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनले दक्षिण एसियाको शान्ति र समृद्धिका लागि के त्यस्तो ...

vionet
NEA MESSAGE
Advertise with us

लोकप्रिय

मनोरञ्जन

Top