काठमाडौं । प्रेस काउन्सिल नेपाल स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धनका लागि स्थापना भएको संस्था हो । सञ्चारमाध्यमको अनुगमन, मूल्याङ्कन गरी मर्यादित तथा जिम्मेवार बनाउने भूमिकामा यो संस्था रहने गर्छ । पत्रकार आचारसंहिता उल्लंघनका विषयमा उजुरी सुन्ने, सोउपर अध्ययन अनुसन्धान गरी आवश्यक कारबाही गर्ने, आमसंचार माध्यममा आचारसंहिताको अनुगमन गर्नेलगायत काम पनि यहि संस्थाकै हो ।
तर, प्रश्न गर्ने संचारमाध्यममाथि कारबाहीको बहानामा अनावश्यक आतंक मच्चाउने गरेको आरोप स्वयम् प्रेस काउन्सिल नेपालमाथि लाग्ने गरेको छ । आमसञ्चार माध्यमलाई मर्यादित बनाउने नाममा उजुरीकर्ताले दिएको झूटो विवरणलाईसमेत पत्याएर संचार संस्थालाई पत्र काट्ने गरेको पाईएको छ । उजुरीकर्ताले दिएको विवरणउपर अध्ययन अनुसन्धान गरेर मात्रै संचारमाध्यममाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाउनुपर्ने ठाउँमा तथ्यजाँच नगरी अनावश्यक स्पष्टीकरण सोधेर प्रेस काउन्सिल नेपालले आतंक मच्चाईरहेको हो ।
‘फेक हवाला’ दिने उजुरीकर्ता
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको चरित्रबारे गएको कार्तिक २२ गते दियोपोस्ट डटकममा एउटा समाचार प्रकाशित भयो । जुन समाचारमा गाउँपालिकाका अध्यक्ष लामा परस्त्रीसँग भिडिओ कलमै नांगिएको विषय समावेश थियो ।
समाचार प्रकाशित गर्नुभन्दा पहिले दुबै पक्षको भनाई बुझ्नुपर्ने र दुबैले दिएको प्रतिक्रियालाई स्थान दिनुपर्ने हुन्छ । त्यहि काम अनुसार दियोपोस्टले पनि अध्यक्ष लामासँगसमेत प्रतिक्रिया लिएको थियो । अध्यक्ष लामा त्यस भिडियोबारे पूर्वजानकार नै रहेको उनीसँगको टेलिफोन कुराकानीबाटै प्रस्टसँग बुझिन्छ । ३–४ वर्षअघिको भिडिओ भएको स्वयं लामाको भनाई छ । यसबारे प्रश्न सोध्ने क्रममा उनले बाँकी कुरा भेटेरै बताउने जानकारी गराए ।
सुन्नुहोस् गाउँपालिका अध्यक्ष टासी लामासँग गरिएको कल रेकर्ड
यत्ति कुरा गरेर उनी सम्पर्कविहीन भए । समाचार प्रकाशित भएपछि खण्डन पठाए । दियोपोस्टले खण्डनसमेतलाई प्रकाशित गर्यो । तर, उनले फेक विवरणको हवाला दिँदै दियोपोस्टविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिन पुगे । जुन उजुरीमा उनले यो घटनालाई ‘डाईभर्ट’ गर्नका लागि पत्रकारमाथि नै अनावश्यक आरोप लगाउने काम गरेका छन् ।
उजुरीमार्फत अध्यक्ष लामाले पत्रकारले ‘भेटुम्न’ भनेर बार्गेनिङ गर्न खोजेको आरोप लगाएका छन् । तर माथि उल्लेखित कल रेकर्डमै सुन्न सकिन्छ, स्वयम् अध्यक्षले नै भेट्ने कुरा गरेका छन् । बरु अध्यक्ष लामाले पत्रकारलाई भेटेरै कुरा गर्छु किन भने होलान् ? त्यसको तथ्य जाँच गर्नुपर्ने थियो । उनको नियतमाथि प्रश्न उठाउनुपर्ने थियो ।
एकपछि अर्को खुलाशा
गाउँपालिका अध्यक्ष लामाले परस्त्रीसँग भिडिओ च्याटमा कुरा गरेको विषय मात्रै दियोपोस्टले प्रकाशित गरेको थियो । तर अध्यक्ष लामाले आफूले एकजना मलेसियामा बस्ने युवतीसँग १ घण्टा कुराकानी गरेको नयाँ खुलाशा उजुरीमार्फत नै गरिदिएका छन् । यसको मतलब उनले ति युवतीसँग कुरा गरेकै थिए भन्ने देखाउँछ । त्यतिमात्रै होइन, ३–४ वर्षअघि नै त्यो भिडिओ देखाएर आफूलाई कुनै समूहले बार्गेनिङ गरेको विषयलाईसमेत बाहिर ल्याएका छन् ।
टासी लामाको अर्को झूट
आफूमाथि गम्भीर आरोप लागेसँगै यो घटनाक्रमलाइ ताेडमाेड लागि गाउँपालिका अध्यक्ष टासी लामाले उजुरीमार्फत नै अर्को झूटको हवाला दिएका छन् । काउन्सीलमा दर्ता भएको उजुरीमार्फत उनले भिडिओमाथि अनुसन्धानका लागि २०७९ साल मंसिर ५ गते काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा र २०६९\०८\०६ गते साईबर ब्यूरोमा उजुरी दिएको उल्लेख गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान र साईबर ब्यूरोमा उजुरी दिएको विषय मात्रै होइन यसमाथि अनुसन्धान एवम् छानविनसमेत भईसकेको उनको दाबी छ ।
तर अध्ययक्ष टासी लामाले प्रेस काउन्सिल नेपाललाई दिएको यो हवालालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान र साईबर ब्यूरोलेसमेत झूटो सावित गरिदिएको छ । उनले गरेको यो दाबी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धानमा उजुरी नै नपरेको देखिएको छ । साईबर ब्यूरोमासमेत अनुसन्धानका लागि भिडिओ नै उपलब्ध नगराएको पाईएको छ । दर्ता नै नभएको उजुरीको हवाला दिएर गाउँपालिका अध्यक्ष लामाले भने प्रेस काउन्सिल नेपालाईसमेत झुक्याउने प्रयास गरेका छन् ।
काठमाडौं उपत्यका अपराधका प्रतिनिधिसँग गरिएको यो टेलिफोन संवाद सुन्नुहोस्
त्यहि ‘फेक हवाला’ लाई पत्याउने प्रेस काउन्सिल
अब कुरा रह्यो प्रेस काउन्सिल नेपालको । गाउँपालिकाका अध्यक्ष लामाले उजुरीमा दिएको हवालामाथि एक तहको अनुसन्धान हुनुपर्ने थियो । तर त्यसैलाई पत्याएर उजुरीउपर कुनै अध्ययन नै नगरीकन संचारगृहलाई पत्र काट्ने काम प्रेस काउन्सिलमार्फत भएको छ । उजुरीमा जे–जे भनिएको छ, त्यसैलाई सहि सावित गरेर पत्रकारले नै ‘बार्गेनिङ’ गरेकाेदेखि विभिन्न निकायमा उजुरी दर्ता गरेकोसमेतको विवरण राखेर संचारगृहमाथि आतंक सिर्जना गर्ने काम भएको छ । संचारमाध्यमले सार्वजनिक गरेको विवरण साँचो हो या होइन त्यसको तथ्य जाँच गर्नुपर्ने ठाउँमा उजुरीकर्ताले दिएको ‘फेक विवरण’ को सहारा लिएर संचारमाध्यममाथि प्रतिशोध लिने काम प्रेस काउन्सिल नेपालबाट भएको छ ।
प्रतिशोधले प्रेरित ‘विशेष निगरानी’
दियोपोस्ट डटकमले प्रश्न गर्न कोही कसैलाई पनि छाड्दैन । जबकी प्रेस काउन्सिल नेपालकै अध्यक्ष बालकृष्ण बस्नेतको नक्कली अनुभवपत्र प्रकरणबारेसमेत समाचार प्रकाशित भयो ।
प्रकाशित समाचारमा उनले अहिलेसम्म खण्डनसमेत गरेका छैनन् । त्यहि समाचार लेखेको प्रतिशोधबाट प्रेरित भएर उनले संचारगृहलाई नै विशेष निगरानीमा राखेका छन् । केही दिनअघि प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको विज्ञप्तिमा दियोपोस्टलाई ‘विशेष निगरानी’ मा राखिएको उल्लेख छ । तर त्यसको आधार भने स्पष्ट खुलाईएके छैन ।
अतः दर्ता भएको उजुरी उपर अध्ययन एवम् अनुसन्धान गरेपछि मात्रै संचार गृहमाथि प्रश्न उठाउनुपर्ने या आवश्यक परेमा कारबाही प्रक्रिया अघि बढाउनुपर्ने हक प्रेस काउन्सिल नेपाललाई छ ।
तर, काउन्सिलका अध्यक्ष बस्नेतको ठाडो निर्देशनमा हुँदै नभएको विवरणलाईसमेत प्रमाण मानेर संचारगृहमाथि आतंक सिर्जना गर्ने काम भएको देखिन्छ । जुन गतिविधि प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो भन्न कुनै कन्जुस्याईं गर्नुपर्दैन ।
सम्बन्धित पक्षको भनाई लिँदा कसरी हुन्छ बार्गेनिङ ?
दियोपोस्टकर्मीले अध्यक्ष लामासँग समाचारको विषयमा प्रतिक्रिया मात्रै लिएको थियो । प्रतिक्रिया लिनु प्रेस काउन्सिलले नै जारी गरेको आचार संहिता (पहिलो संशोधन २०७६) को दफा ४ को उपदफा ६ (१) मा पत्रकार तथा संचार माध्यमले सम्बन्धित पक्षको भनाईलाई स्थान दिनुपर्ने उल्लेख छ ।
सोही विषयमा दियोपोस्टमाथि प्रेस काउन्सिलले नै पटक पटक पत्राचार समेत गर्दै आएको छ । तर, लामाको हकमा भने प्रतिक्रिया लिँदा काउन्सिलले नै माथि उल्लेखित अडियोकै आधारमा बार्गेनिङ गरेको ठहर गरेको छ । यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि समेत हमला भएको स्पष्ट देखिन्छ ।
प्रतिक्रिया दिन चाहँदैनन् सुचना अधिकारी
यस विषयमा प्रतिक्रिया लिन प्रेस काउन्सिलका सुचना अधिकारी रामशरण बोहोरालाई सम्पर्क गरेका थियौँ । उनले ‘छिटोमा प्रश्नगर्न भने तर, प्रश्न सुनेपछि अहिले कार्यालय समय नभएकाले भोली कुरा गरौँला भन्दै फोन काटिदिए ।