काठमाडौैं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुन्— वर्षमान पुन । रोल्पाबाट पटक पटक निर्वाचित पुन हाल माओवादी केन्द्रको उपमहासचिव छन् । माओवादी केन्द्र सरकारमा हुँदा सबैभन्दा धेरै पटक मन्त्री बन्नेहरुको सुचीमा उनै पुन पर्दछन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहँदा पुन अर्थमन्त्री थिए । उनै वर्षमान पुनसहित सुन तस्करीमा मुछिएका अभियुक्त भिमकान्त भण्डारीको समुहले एक चिनियाँ नागरिकलाई २ मिलियन अमेरिकी डलर बढी रकम ठगी गरेको आरोप लागेको छ । ती चिनियाँ नागरिकले माओवादीको केन्द्रीय कार्यालयमा उजुरी दिँदा समेत पुनमाथि छानबीन समेत नगरी उक्त उजुरी नै गायब बनाइएको छ । माओवादी हेडक्वार्टरमा गायब भएको उक्त उजुरी दियोपोस्टले फेला पारेको छ ।
प्राप्त उजुरी अनुसार पुन, विध ल्याबका संचालक तथा एक सय किलो सुन तस्करीका अभियुक्त भिमकान्त भण्डारी र ललितपुरस्थित होटल हिमालयनका मालिक नविन कुमार तुलाधरको मिलेमतोमा ती चिनियाँ नागरिकबाट ३५ सय मेट्रिक टन रसायनिक युरिया मल नेपाल भित्र्याएर उता चिनियाँलाई भने भुक्तानी नदिएको आरोप छ ।
यसबारे चिनियाँ नागरिकले नौ पृष्ठको उजुरी केन्द्रीय कार्यालय पेरिस डाँडामा दिएपनि उक्त उजुरी नाटकीय ढंगबाट गायब पारिएको छ भने पुनमाथि कुनै छानबीन पार्टीले गरेको छैन । उल्टै यति ठूलो ठगीकाण्डमा मुछिएका पुनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि आफू नेतृत्वको सरकारमा अर्थमन्त्री बनाएको बनाएका थिए ।
‘माओवादीका केही नेताहरुका कारण चीनियाँसँगको सम्बन्धमा दरार पैदा भएको छ । हामीमाथि धोखा र दुर्व्यवहार सार्वजनिक गर्दैछौँ हामीलाई विश्वास छ हाम्रो माओवादी भाईचाराले यो अपराधको सहि अनुसन्धान गरि नैतिक मन्चमा ल्याउने छ,’ उजुरीमा भनिएको छ,‘यो धोकाधडी र ठगी प्ररकणको नायक तपाईंको पार्टीको मुख्य नेता वर्षमान पुन अनन्त र बिध म्यानेजमेन्टका मालिक भिमकान्त भण्डारी हुन् ।’
उनीहरुले आफूहरुले चीनमा उपचारका क्रममा वर्षमान पुनलाई निकै सहयोग गरेको दाबी गरेका छन् । यसरी उपचारमा सहयोग गर्नेहरुमाथि नै भण्डारी पुनको समुहले यति ठूलो धोकाधडी दिने विषय आफूहरुलाई विश्वास नै नलागेको उजुरीमा बताएका छन् ।
उजुरीमा बताइए अनुसार वर्षमान पुन नै ज्ञारेन्टी बसेपछि चीनियाँ कम्पनि सिएण्डीले नेपालमा ३५ सय टन युरिया मल भिमकान्त भण्डारीका स्वमित्व रहेको बिध म्यानेजमेन्ट मार्फत नेपाल पठाएको थियो । कोरोनाकालमा निकै विवादित बनेको बिध म्यानेजमेन्टले अस्वभाविक चलखेल गरि चीनबाट कृषि सामग्री केन्द्रका लागि मल ल्याउने ठेक्का पाएको थियो ।
सोही कम्पनिले चीनबाट ३५ सय मेट्रिक टन मल नेपाल भित्र्याएको थियो । तातोपानी भंसार नाका हुँदै नेपाल भित्र्याइएको उक्त मल ल्याएपछि उता चीनियाँलाई भने भुक्तानी नै नदिई ठगी गरेको आरोप चिनियाँ पक्षको छ । चिनियाँले दिएको उजुरीमा भिमकान्तले चिनियाँ कुटनीतिज्ञ, सेनाका अधिकारी र व्यवसायीलाई आफू माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समेत नजिकको व्यक्ति रहेको र आधिकारीक प्रतिनिधि भएको बताउने गरेका थिए ।
उनीहरुले वर्षमान पुन नै ठगीको मुख्य योजनाकार रहेको आरोप उजुरीमा लगाएका छन् ।
‘वर्षमान पुनले नै यो सबै गरेका हुन् । किनकी वर्षमानकै जोडबलमा चाइना नर्थेन ईन्टरनेश्नलको एजेन्सी राइट भिमकान्त भण्डारीलाई दिएको थियो । यो घोटालामा ललितपुरस्थित हिमालयन होटलका मालिक बताउने नविन कुमार तुलाधर पनि संलग्न छन्,’ उजुरीमा भनिएको छ,‘उनीहरुले वर्षमान पुनकै साहारामा सिएण्डडिको विश्वास हासिल गरेका थिए । उनीहरुले नेपालमा २ मिलियन बराबरको मल ल्याएर भुक्तानी भने दिएनन् । हामीलाई ठगी गरे । तपाईंले तातोपानी भंसार कार्यालयमा बुझ्न सक्नुहुन्छ ।’
टेण्डर प्रक्रियामा संलग्न भनिएको ग्लोबल म्याटिक सिंगापुर, ह्वाइट ग्लोब कम्पनिका सबै कागजात समेत जाली रहेको उजुरीमा दाबी छ । सिएण्ड डि कम्पनिबाट नेपालमा मल ल्याउने बहानामा भएको एउटा ठूलो मल घोटालाबारे हामी उजुरी गर्दैछौँ भन्दै उजुरीकर्ताले यो घटनालाई आर्थिक अपराधसँग तुलना गरेका छन् । ठेक्का प्रक्रियामा संलग्न रहेको सिनोम्याक हाई कम्पनिको कागजात समेत नक्कली तयार पारेको विषयमा आफूहरुले तत्कालिन कृषि सामग्री केन्द्र लिमिटेडका उच्च अधिकारीसँग प्रश्न उठाएको समेत उजुरीमा दाबी छ ।
उनीहरुले ठेक्का प्रक्रियामा संलग्न गरेको बैंकिङ कागजातसमेत नक्कली तयार पारेको आरोप छ । नक्कली हस्ताक्षरबारे सिनोम्याकको महाप्रबन्धकले नै पुष्टि गरेको दाबी समेत उजुरीमा छ । माओवादी मुख्य नेता वर्षमान पुनकै योजनामा यस्तो आर्थिक अपराधबारे आफूहरुले थाहा पाउँदा आश्चर्यचकित भएको उनीहरुको उजुरी दिने पक्षको भनाई छ ।
पुनकै योजनामा चिनियाँ राज्य समर्थित उद्योगलाई ध्वस्त बनाएको आरोप उनीहरुले लगाएका छन् । पुनले आम माओवादी कार्यकर्तामाथि समेत ठगी गरिरहेको आभाष भएको उजुरीमा भनिएको छ । ‘हामीलाई गहिरो आश्चर्य छ । हाम्रा ईमान्दार माओवादी कार्यकर्ता साथीहरु पनि यस्ता नेताबाट ठगीएका छन् । त्यसैले हामीले यो सुचना तत्काल नेपालस्थित चिनियाँ राजदूतावासलाई दियौँ, नेपालस्थित वाणिज्यदूतावासलाई पनि दियौँ । हामीलाई चिन र नेपालले यो ठूलो ठगीको अनुसन्धान गरि कारबाही गरोस् भन्ने अपेक्षा छ,’ उजुरीमा भनिएको छ,‘जसमा दुवै देशका केन्द्रीय निकायहरु संलग्न छन् । आशा छ दुवै देशको सरकारले पीडितहरुलाई न्याय देओस् ।’
माओवादीका जतिसुकै बरिष्ठ नेता भएपनि कडा सजायको भागिदार हुनुपर्ने उजुरकर्ताको अडान छ ।
माओवादी अध्यक्ष पुष्पकमल नेतृत्वको तत्कालिन सरकारले भ्रष्टाचार विरुद्ध कडा कदम चालेको प्रशंसा समेत उजुरीमा गरिएको छ । माओवादी भित्रको यो आर्थिक अपराधको निष्पक्ष छानबीन हुनेमा समेत उनीहरुले अपेक्षा रहेको उल्लेख छ । नेपाली जनता, मिडिया र अन्तर्राष्ट्रिय निकायले समेत यो मामिलामा ध्यानदिनुपर्ने उनीहरुको माग छ । उजुरीपरेपछि नेता पुनमाथिको कारबाही आम मानिसले थाहा पाउनुपर्ने अडान समेत उजुरीमा छ ।
उजुरीमा उल्लेखित आरोप र वास्तविकता
कृषिका लागि रासायनिक मल आयात गर्न कृषि सामग्री कम्पनी लिमिटेडले १० सेप्टेम्बर, २०२१ मा टेन्डर आह्वान गरेको थियो । त्यसको ठेक्का सिल्क/सिनोम्याच/ग्लोबलम्याटिक/बिध म्यानेजमेन्ट संयुक्त जेभीले पायो । जसमा २५ हजार मेट्रिक टन मल नेपाल भित्र्याउने उनीहरुको सम्झौतामा उल्लेख थियो ।
कृषि सामग्री कम्पनी र जेभीबीच २४ नोभेम्बर २०२१ मा २५ हजार मेट्रिक टन रासायनिक मल आयातका लागि दुई करोड ३७ लाख अमेरिकी डलरको ठेक्का सम्झौता भयो । सम्झौता अनुसार, जेभीले रासायनिक मल २९ मार्च २०२२ सम्ममा आपूर्ति गरिसक्नुपर्थ्यो । तर, समयमा मल आएन । यता किसान मल विनै धान रोप्न बाध्य भए । समयमा मल ल्याउन नसकेपछि कृषि सामग्री केन्द्र लिमिटेडले भण्डारीसहितको संयुक्त जेभिलाई कालो सुचीमा राखियो ।
रासायनिक मल ल्याउने ठेक्का पाएको संयुक्त जेभीमा रहेको कम्पनी ग्लोबम्याटिक्स त्यही कम्पनी हो जससँग ओम्नीले कोरोना संक्रमणको पहिलो लहरका वेला चीनबाट स्वास्थ्य सामग्री आपूर्तिमा सहकार्य गरेको थियो । खोज पत्रकारिता केन्द्रलाई अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट (ओसीसीआरपी)ले सिंगापुरको अकाउन्टिङ एन्ड कर्पोरेट रेगुलेटरी अथोरिटीबाट प्राप्त कम्पनीबारेको विवरण अनुसार, सन् १९८७ मा दर्ता भएको ग्लोबमेटिक्सको कार्यक्षेत्र सौर्य ऊर्जा, जलविद्युत्सँग सम्बन्धित छ ।
नेपाली नागरिक नवीन तुलाधरका नाममा दर्ता यो कम्पनीको निर्देशकमा सिंगापुरका नागरिक ट्यान बी हङ रहेको कम्पनी दर्ता सम्बन्धी कागजपत्रमा देखिन्छ । नविन तिनै व्यक्ति हुन् जसलाई चिनियाँ उजुरीकर्ताले ठगीको आरोप समेत लगाएका छन् ।
तुलाधरको यो कम्पनी तस्करीमा संलग्न भएको आरोपमा यसका दिल्लीस्थित प्रबन्धक नरोत्तम श्रेष्ठ सन् २०१० अक्टोबरमा दिल्लीमा पक्राउ परेका थिए । नेपालको बाटो हुँदै सिंगापुरबाट भारतमा सहतुसको ऊन तस्करी गरेको आरोप उक्त कम्पनीमाथि छ । श्रेष्ठ १३० किलो उच्च गुणस्तरको ऊन तस्करी गरेर दिल्ली लैजाँदै गर्दा पक्राउ परेका थिए ।
तिब्बती हरिणको रौंबाट बनाइने सहतुस ऊनको उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध छ । यही कम्प्निको साझेदारीमा नेपालमा मल भित्र्याउने ठेक्का सम्झौता तत्कालिन सरकारले गरेको थियो । तर, समयमै मल भने ल्याउन सकेन । अन्तर्राष्ट्रिय बजारमा मलको भाउ घटेको समय पारेर चिनियाँ कम्पनिबाट तातोपानी भंसार हुँदै भित्रिएको ३५ सय मेट्रिक टनको भुक्तानी नदिएको चिनियाँ पक्षको आरोप छ ।
भिमकान्त र वर्षमान कनेक्सन
गुल्मीको सामान्य परिवारमा जन्मिएका भिमकान्त भण्डारी कुनै समय नेपाल सरकारको सुब्बा तहको कर्मचारी थिए । यसअघि दियोपोस्टमा उनीबारे प्रकाशित समाचार अनुसार भण्डारी विकास समिति ऐन अन्तर्गत सञ्चालन भएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको शाखा ग्रामीण विकास प्रशिक्षण केन्द्र, झापामा पहुँचका भरमा २०७३ साल असोज १९ गते नियुक्त भएका थिए ।
तत्कालिन उर्जामन्त्री वर्षमान पुनको सचिवालयमा प्रवेश गरेपछि भण्डारीको रवाफ बदलियो । त्यतिबेलो उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका सामग्री खरिद प्रक्रियामा संलग्न भएको ओम्नी समुह बाहिरिएलगत्तै अप्रत्यासित रुपमा सोही ब्यापार सम्हालेका थिए । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले १९ वैशाख २०७७ मा बिध सँग शुरुमै रु ५ करोड ६५ लाख २५ हजार मूल्य बराबरको आरडीटी किट खरिदका लागि जिम्मा दिएको थियो । कोरोनाकालमा निकै चर्चामा रहेको बिध ल्याबमा एकाएक चालिस करोड लगानी भित्र्याएर भण्डारीले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको प्रमाण छोडेका थिए ।
अकुत सम्पत्ति मुद्दा खेपिरहेका भण्डारी
गुल्मीको मालिका गाउँपालिका ५ का सामान्य परिवारमा जन्मेका भण्डारीको सम्पत्ति विवरण हेर्दा यति धेरै लगानी गर्ने आर्थिक हैसियत देखिँदैन । २०७१ माघ २२ गतेसम्मको सम्पत्ति विवरण अनुसार उनको परिवारसँग २० रोपनी १२ आना जग्गा तथा नगद र गरगहना समेत बढीमा ५ लाख ४० हजार बराबरको जिन्सी रहेको देखिन्छ । त्यसयता ६ वर्षको अवधिमा ब्यापारमा नाममा उनको अहिले अर्बौंको साम्राज्य छ ।
उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ असार ३ गते विशेष अदालतमा ६ करोड २४ लाख रुपैयाँभन्दा बढी रकम स्रोत नखुलेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले भण्डारीलाई सफाई दिएको छ । विशेषको सफाई दिने फैसला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १२ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सम्पर्कमा आएनन् पुन
यसैबीच माओवादीका प्रभावशाली नेता मानिएका वर्षमान पुनलाई यस विषयमा प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
भिमकान्त र नविनकुमार तुलाधरकाे खण्डन