काठमाडौं । नेपाली समाजमा निःसन्तान हुनुलाई ‘अभिसाप’ सरह मानिन्छ । एकातिर निःसन्तान हुनुपरेको पीडा त छँदैछ अर्कातिर त्यस्ता व्यक्तिमाथि समाजले हेर्ने दृष्टिकोण हदैसम्मको विभेदकारी छ । विशेषगरि महिलाहरुमाथि समाजले गर्ने विभेद भयानक र विभेदकारी छ ।
त्यसैकारण मानिसहरु सन्तान प्राप्तिका लागि जस्तो सुकै उपचार पद्धति अपनाउन र जतिसुकै रकम खर्च गर्न पनि बाध्य छन् । यसरी आम निःसन्तानहरुको बाध्यता र भावनामाथि टेष्ट्युब बेबी सेन्टर अर्थात आईभिएफ सेन्टरहरुले चरम ठगी गरिरहेका छन् । आकर्षक विज्ञापन र झूटो प्रचार गरि आम निःसन्तान दम्पत्तिमाथि राजधानीको नक्सालमा मुख्यालय रहेको वात्सल्य नेचुरल आईभिएफ प्रा.लीले चरम ठगी गर्दै आएको हो ।
वात्सल्यले आईभिएफ अर्थात ‘ईन भिट्रो फर्टिलाइजेसन’ गर्न त्यहाँ पुग्ने निःसन्तान व्यक्तिमाथि प्रतिव्यक्ति विभिन्न चरणमा गरेर ५ लाख रुपैयाँ भन्दा बढी असुली गरिरहेको भेटिएको छ । तर, नियामक निकाय स्वास्थ्य मन्त्रालय भने रहस्यमयी रुपमा चुपचाप बसिरहेको छ ।
प्राकृतिक तरिकाले सन्तान प्राप्त गर्न नसक्ने दम्पत्तिहरुका लागि प्राविधिक सहायताले बच्चा जन्माउने प्रविधिलाई आईभिएफ भनिन्छ । महिलाको गर्भाषयमा हुने अण्डा र पुरुषको शुक्राणुलाई बाहिर नै प्रयोगशालामा निषेचन गरेर निषेचित भ्रुणलाई गर्भमा राखी महिलालाई गर्भवति बनाइन्छ । भारतीय समाजमा सामान्यतया ९० हजारदेखि एक लाख रुपैयाँसम्ममा गरिने यो उपचार पद्धती आईभिएफ प्रविधिको यो उपचार नेपालमा भने ५ लाख रुपैयाँसम्म असुली गरिँदै आएको छ ।
सन् १९७८ मा नै संसारमा शुरु भइसकेको यो पद्धती नेपालमा भने केही वर्षअघि आएको हो । तर, वात्सल्यमा आईभिएफ प्रविधिबाट बच्चा जन्मने नियमित प्रक्रियालाई चमत्कारको रुपमा प्रचार गरिन्छ । सोही प्रचार प्रसार आतकंबाट प्रभावित बनेका निःसन्तानहरुको भावनामाथि नै खेलवाड गरि अर्बौंको धन्दा चलिरहेको छ ।
निःसन्तान महिलाको अण्डा र पुरुषै भ्रुण प्रयोग गरि आइभिएफ गर्दा ९० हजार देखि १ लाख ५० हजारसम्म असुलिँदै आएको छ । अण्डा दान लिनुपरेको खण्डमा भने एक लाख ९० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म असुली गरिँदै आएको छ । शुक्राणु दान लिनुपरेमा २ लाख ५० हजार देखि ३ लाख ५० हजार रुपैयाँसम्म असुली गरिन्छ । तपाईंको भ्रुण लामो समयसम्म फ्रिजमा राखेर गरिने एफईटी प्रणालीका लागि भने ५ लाख रुपैयाँसम्म असुली गरिँदै आएको छ ।
तर, सरकारी अस्पताल प्रसुती तथा स्त्रीरोग थापाथलीमा भने १ देखि २ लाख रुपैयाँमा आईभिएफ प्रविधिबाट निः सन्तान दम्पत्तिको उपचार हुँदै आएको छ । निजि क्षेत्रबाट सञ्चालित वात्सल्य मात्रै होइन अधिकांश आईभिएफ सेन्टरहरुले मनोमानी शुल्क उठाउँदै आएका छन् । सरकारले आईभिएफ प्रणालीबाट हुने उपचार प्रणालीबारे हालसम्म कुनै मापदण्ड निर्धारण गरेको छैन ।
भारत सरकारले आईभिएफ सेन्टर संचालनका लागि मापदण्ड नै निर्धारण गरेको छ । जसमा भारतीय स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा समिति नै छ । आईभिएफ सेन्टर संचालनका लागि एमडि गरेका स्त्री रोग विशेषज्ञता हासिल गरेका व्यक्तिले मात्रै अनुमति पाउने गरेका छन् । तर, नेपालमा भने सरकारले सामान्य एमबिबिएस गरेकै र ६ महिने तालिम लिएका डाक्टरलाई आईभिएफ सेन्टर संचालनको अनुमति दिने गरेको छ ।
भ्रूण विज्ञका रुपमा रहेका डाक्टरको सर्टिफिकेटको आधारमा आईभिएफ संचालनको अनुमति !
प्रसुती तथा स्त्री रोग विशेषज्ञको शैक्षिक प्रमाण पत्र र विशेषज्ञ प्रमाण पत्रको आधारमा आईभिएफ सेन्टरहरु संचालन हुनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास भएपनि वात्सल्य आईभिएफले भ्रणविज्ञ भनेर सुरेश यादव र नर्स मेनुका थापा मगरको शैक्षिक प्रमाण पत्रको आधारमा आईभिएफ सेवा संचालनको अनुमति लिएको छ ।
शुल्क निर्धारणमा छैन सरकारी संयन्त्र
आईभिएफको शुल्क निर्धारणको विषयमा सरकारी संयन्त्रको रहस्यमयी मौनता छ । सरकारले २०७७ सालमा मापदण्डको नाममा नियमावली ल्याएर आईभिएफ खुला गर्ने निर्णय त गर्यो तर त्यहाँ कस्तो ल्याब र अपरेशन थिएटर हुने भन्ने विषयमा मापदण्ड निर्धारणमा भने चुकेको छ । आईभिएफको शुल्कबारे समेत सरकारले कुनै पनि मापदण्ड बनाएको छैन । शुल्क र मापदण्ड नहुँदा नै आईभिएफ सेन्टरहरुको मनोमानी बढेको छ ।